कपिलवस्तुमा गोली हानि एकको हत्या

तौलिहवा, १८ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो ।

छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।रासस