सरकारलाई भिम रावलको प्रश्न : विदेशीसँग लम्पसार परेर देश विकास हुन्छ ?

काठमाडौँ , १९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बाटै सरकारको चर्को आलोचना शुरु भएको छ ।

गत पुष ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा बिहिबार आफ्ना धारणा राख्दै नेकपाका स्थायी कमिटी सदस्य रावलले विदेशीसँग लम्पसार परेर देश विकास नहुने बताएका छन् ।

उनले सरकारको नेतृत्व गर्नेहरु जनचाहना नबुझ्ने र विदेशीको गुलाम हुने गरेको गम्भीर आरोपमा लगाएका छन् ।

संसदमा आफ्ना तर्क राख्ने क्रममा नेता रावलले ‘विदेशीसँग लम्पसार परेर देश र जनताको उन्नति हुन्छ ?’ भन्दै प्रश्नसमेत गरेका थिए । पछिल्लो समय सरकार संचालन र नेतृत्वको कार्यशैलीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका उनले माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे सरकारको ध्यानाआकर्षण गराएका थिए ।

नेता रावलले उक्त कामको ठेक्का पाएको जीएमआर कम्पनीले सम्झौता पत्र अरुलाई बेच्न लागेपनि त्यस्को बारेमा चासो नदिनु आफैमा लज्जाको बिषय भएको बताएका हुन् ।