महिलालाई मन्दिर प्रवेशमा रोक लगाइए पछि दोहरो झडप, केहि व्यक्ति घाइते !

थिरुवानान्थापुरम, भारत, १९ पुस । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा झडप भएको छ ।

परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै स्थानीयले अवरोध जनाएपछि बुधबार झडप भएको हो ।

सो झडपमा परी दुवै तर्फका केहि ब्यक्तो घाइते भएको समचारमा जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस नै प्रहार गर्नु परेको थियो ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्पराले लैङ्गिक भेदभाव भएको भन्दै मुद्दा परेपछि मन्दिर प्रवेशमा निषेध गर्न नपाइने फैसला गत सेप्टेम्बरमा नै अदालतले गरेको थियो ।

फैसला सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ’प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ’धर्मको अनुशरण गर्ने अधिकार महिला पुरुष दुवैलाई बराबर भएको’ उल्लेख गर्नुभएको थियो ।

तर मिश्रको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासमा रहेकी एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले भने यस फैसलामा असहमति जनाउनुभएको थियो । उहाँको असहमतिका बाबजुद बहुमतका आधारमा यो फैसला भएको हो ।

गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्न नहुने र अदालतको हस्तक्षेपले अन्य धार्मिक विषयमा पनि असर पर्नसक्ने मलहोत्राकोे भनाइ छ ।

सबरीमाला भगवान अयप्पाको मन्दिर हो र उहाँ ब्रह्मचारी हुनुहुन्थ्यो, त्यसैले रजस्वला भएका महिलालाई त्यहाँ प्रवेश गर्न दिनु हुँदैन भन्ने मान्यता रहेको बताइन्छ ।