सपथ खुवाउन भन्दै मनाङेको निवेदन सभामुख कार्यालयमा !

काठमाडौं, १९ पुस । मनाङबाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ ले आफूलाई प्रदेश सदस्यको सपथग्रहण गराउन माग गर्दै निवेदन दिएका छन् ।

मनाङेले गण्डकी प्रदेशको सभामुख कार्यालयमा सपथग्रहण गराउन मागसहित निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि गुरुङले सभामुखको कार्यालयमा निवेदन दिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बताए ।

‘उहाँले निवेदन दिनुभएको छ। कानूनी हिसाबले सपथ गराउन मिल्छ या मिल्दैन छलफल गरिराखेका छौं,’ सभामुख अधिकारीले भने, ‘प्रष्ट कानुन नहुँदा निर्णयमा पुग्न गाह्रो भयो ।’

गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएन ।

सभामुख अधिकारीले यस बारेमा मुख्यन्यायाधीवक्ता र कानुनका जानकारसँग पनि छलफल गरिरहेका छन् ।