न्युक्यास्टलमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित
काठमाडौं, १९ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यास्टलमाथि सहज जित निकालेको छ ।
गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यास्टललाई उसैको मैदानमा २-० गोलअन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा रोमेलु लुकाकु र मार्कुस राष्फोर्डले समान १-१ गोल गरे ।
पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । खेलको ६४औं मिनेटमा लुकाकुले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ८०औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडको अग्रतालाई दोब्बर बनाए । त्यसपछि कुनै टिमले गोल गर्न सकेन ।
जितसँगै लिगको छैटौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले २१ खेलबाट ३८ अंक बनाएको छ । पराजित न्युक्यास्टलको भने २१ खेलबाट १८ अंक रहेको छ ।