बिपीको मेलमिलाप सबैका लागि आदर्श

विराटनगर, १८ पुस | बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप देशका सबै शक्तिलाई एकीकृत गर्ने उद्देश्य रहेकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

बिपी विचार राष्ट्रिय समाजद्वारा ४३औँ राष्ट्रिय एकता मेलमिलाप दिवसका अवसरमा आयोजित अर्थ–राजनीति र राष्ट्रियताका चुनौती सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताले तत्कालीन अवस्थामा प्रवासमा रहेका बिपीले नेपालमा भूगोल र राजनीतिक खतरा देखिने भएकाले सो नीति लिएको चर्चा गर्नुभयो ।

काङ्ग्रेस नेता एवं बिपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले बिपीको विचार, नीति र अवलम्बन गरेको सिद्धान्तले अहिले पनि उत्तिकै महत्व बोकेको बताउनुभयोे । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले नेतृत्व तहले गरेको गल्तीबाट नेपाली जनताले कालान्तरसम्म दुःख पाउने उल्लेख गर्नुभयो । रासस