काभ्रेबाट पक्राउ परेका विप्लव माओबादीका ९ जना नेताहरुमध्ये खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि रहेको खुलासा !

काठमाडौँ, ९ चैत्र । शुक्रबार राति काभ्रेबाट पक्राउ परेका ९ मध्ये खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि रहेको खुल्न आएको छ ।

प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसँगै पक्राउ पर्नेमा अधिकारी पनि रहेको बताइएको हो ।

पहिला माओवादीमा संलग्न रहेका उनी पछिल्लो समय विप्लव समूहमा आवद्ध रहेका थिए । अधिकारी र मगरको ०६६ सालमा प्रेम विवाह भएको थियो । तर यी दुईको विवाह सुखद हुन नसकेपछि मगरले ०६९ सालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसँग प्रेम विवाह गरेकी थिइन् ।

मगरले प्रकाश दाहालसँग विवाह गरेपश्चात अधिकारीले आफ्नो सम्बन्ध बारे त्यसबेला एक अखबार मार्फत खुलासा गरेका थिए । उक्त अखबारलाई अन्तर्वार्ता दिने क्रममा अधिकारीले मगर प्रकाश दाहालसँग हिडेको थाहा पाउँदा चकित परेको प्रतिक्रिया दिएका थिए ।

शुक्रबार प्रहरीको विशेष ब्युरो, महाशाखाको टोली र काभ्रे प्रहरीको संयुक्त अप्रेसनको क्रममा शंकर अधिकारी, हेमन्तप्रकाश ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, देव घिमिरे, सञ्जिव कार्की र लोकेन्द्र खड्का पक्राउ परेका हुन् ।