एकै पटक लहरै रहेको ६ घरमा चोरी, गरगहनादेखी लता कपडासम्म गायब !

वीरगन्ज, ९ चैत्र । वीरगन्जमा एककै रातमा एकै टोलका ६ वटा घरमा चोरी भएको खबर रितेश त्रिपाठीले नागरिक दैनिकमा लेखेका छन् ।

श्रीपुर वाडा नम्बर ११ को नयाँ बस्तीमा शुक्रबार राति एकै साथ ६ घरमा चोरी भएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरभन्दा ५ सय मिटरको दुरीमा मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोश समेत जनाएका छन् ।

श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा गरगहनादेखी लता कपडासम्म चोरी भएको हो ।

सबै घरहरुका ताल्चा फुटालेर चोरहरु प्रवेश गरेको पाइएको छ । चोरीको शिकार भएकामध्ये राजेश र असर्फी दाजुभाई हुन । ग्रामीण क्षेत्रमा साविक घर भएकाहरु होली मनाउन गएका र फर्केर आउन बाकी रहेको बेला छानीछानी यस्तो शृंखलाबद्ध चोरी भएको स्थानीय विद्यानन्द चौधरीले बताए ।

उक्त श्रृखंलाबद्ध चोरीको घट्नामा प्रहरीले अनुसन्धान गरीरहेको र कसैलाई समात्न नसकिएको पर्साका प्रहरी उपरीक्षक रेवति ढकालले बताए ।