मुख्यमन्त्री राउतको तर्क : ‘छोरी अभिशाप होइन, बरदान हो’

सप्तरी, ९ चैत्र । ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान शुरु गरेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी भनेर हेला गर्ने समय समाप्त भइसकेको बताएका छन् ।

सप्तरीको कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गर्दै मुख्यमन्त्री राउतले छोरी अभिशाप नभई वरदान भएको बताएका हुन् ।

‘छोरी भयो भनेर मन छोटो नगरौं, छोरी अभिशाप होइन बरदान हो’ उनले भने, ‘छोरीलाई राम्रो शिक्षा दिएमा छोराजस्तै छोरी पनि अगाडि बढेर घर, परिवार र देशलाई सघाउँछन् ।’

राउतले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी दिए । उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै उनले औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने बताए ।