विकास निर्माणमा इमान्दार हुन निर्देशन

सुर्खेत, ९ चैत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिनुभएको छ । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुग्नुभएका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी र स्थानीय समुदायलाई निर्देशन दिनुभएको हो ।

“पछिल्लो समयमा उपभाक्ता समितिका नाममा अनियमित हुन थालेका घटना बाहिर आइरहेका छन्,” मन्त्री खत्रीले भन्नुभयो,“यसले विकास र सामाजिक संस्कार दुवै बिग्रेको छ ।”

उहाँले अगाडि भन्नुभयो, “निर्माण व्यवसायीले राज्यलाई कर तिरेर वैधानिक तरिकाले काम गरिरहेका छन् र धरौटीसमेत लिइएको हुन्छ । दायाँबायाँ गरे सरकारले धरौटी जफत गर्नुको साथै कालोसूचीमा राख्छ ।”

साविकको मैनतडा गाविसमा १७ वटा खानेपानी तथा सिँचाइका योजनाका लागि प्रदेश सरकारले रु तीन करोड २० लाख बजेट विनियोजन गरेकाले यो चालु आवमै योजना सम्पन्न गर्नसमेत उहाँले त्यहाँका समुदायलाई निर्देशन दिनुभयो ।

भेरी नदीस्थित भेरीगङ्गा र गुर्भाकोट नगरपालिका जोड्ने पुल निर्माण कार्यको अनुगमन गर्दै मन्त्री खत्रीले सो आयोजनाको जिम्मा लिएको आशिषचन्द्र एण्ड वसन्त जेभी निर्माण सेवालाई बेलैमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

कर्णाली प्रदेशसभाका सदस्य पद्मा खड्काले पानीको निकै ठूलो अभावग्रस्त क्षेत्र मैनतडाका जनताको आवश्यकतालाई बुझेर प्रदेश सरकारले रकम विनियोजन गरेको बताउनुभयो । सरकारले रु एक करोड मुनिका योजना समुदायलाई निर्माण गर्न दिने नीति ल्याएकाले वर्षेनी कालापहाड जाने यहाँको जनतालाई सरकारको यो बजेटले सहयोग पुग्ने उहाँले विश्वास दिलाउनुभयो ।

भेरीगङ्गा नगरपालिका–९ सुर्खेतस्थित रु २५ लाख बराबरको डडरेखोला सिँचाइ योजना निर्माणार्थ गठित उपभोक्ता समितिका अध्यक्ष कौशिला सार्कीले यो आवमै योजना निर्माण गर्न सकिनेमा आफू ढुक्क रहेको विश्वास दिलाउनुभयो ।

मन्त्री खत्रीले भेरीगङ्गा नगरपालिका, लेकबँेसी र गुर्भाकोट नगरपालिका सडक, खानेपानी, सिँचाइ, पुल, बजार व्यवस्थापन र विभिन्न विद्यालयको भौतिक निर्माणका योजनाको अनुगमन गर्नुभएको थियो । रासस