डोको बुनेर छाक टार्दै दृष्टिविहीन खिमप्रसाद

–ध्ुा्रबसागर शर्मा

गलेश्वर, ९ चैत। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका जन्मजात दृष्टिविहीन खिमप्रसाद छन्त्यालको जीवन अत्यन्त कष्टकर रुपमा बितिरहेको छ । जन्मदै आँखाको दृष्टि गुमाएका छन्त्यालले जन्मेपछि सानै उमेरमा बुबाआमा पनि गुमाउनुभयो ।

बाबुआमाको मृत्युपछि रोजगारीको खोजीमा भारत पसेका दाजु पनि उतै बेपत्ता हुनुभयो । एउटी बहिनी पनि दृष्टिविहीन । दिदीले गाउँकै युवकसँग विवाह गरेपछि घरमा दुई दृष्टिविहीन दाजु बहिनी मात्र रहनुभयो । समयसँगै निकै परिवर्तन भए । कति शिशिर आए गए । तर, खिमप्रसादको जीवनमा कहिल्यै वसन्त आएन । खुशीको स्वााद कस्तो हुन्छ छन्त्यालले कहिल्यै अनुभव गर्न पाउनु भएन ।
करीब ५५ वर्षीय खिमप्रसाद छन्त्यालले दुई दशक अघिदेखि जीवन गुजार्नका लागि बाँसको चोयाँलाई रोज्नुभयो र डोको बुन्न थाल्नुभयो । चोयालाई बटार्दै र मिलाउँदै डोको बुन्ने गर्नुभएका उहाँको जीवन पनि चोयासँगै चिरिँदै र भाटासँग मिसिदै रित्तो डोको जस्तै बनेको छ ।

जिल्लाको विकट क्षेत्रमा पर्ने ठाडाखानीमा दृष्टिविहीन भएकै कारण बाँच्ने आधार केही नभएपछि उहाँले जीवनलाई सधैँका लागि विश्राम दिने प्रयास पनि नगरेको होइन । गाउँमै विवाह गर्नुभएकी दिदी, आफन्तको सहयोगमा बिहानबेलुकी छाक टार्ने गर्नुभएका खिमप्रसादले सधैँ मागेर गुजारा चलाउनुपर्ने अवस्थालाई अन्त्य गर्न आफ्नै हातको सीपलाई खर्चिएर डोको बुनेर गुजारा चलाउँदै आउनुभएको छ ।

उहाँले हातको साहराले डोको बुन्ने गर्नुभएको छ । आफन्तको सहयोगमा आवश्यक साम्रगी जुटाएपछि बुनेको डोकालाई स्थानीयवासीले समेत खरिद गर्ने गरेका छन् । “घरमा एक्लै हुनुहुन्छ, गाउँमा धेरै दुःख पाउनेमा उहाँको नाम अगाडि आउँछ”, वडा सदस्य टेकजीत छन्त्यालले भन्नुभयोे ।

सदस्य छन्त्यालका अनुसार खिमप्रसादले घरमै सहयोग गर्ने सदस्य नहुँदा विवाह गरेर गएकी दिदी, आफन्त र गाउँलेको सहयोगमा दिन बिताउनुपरेको छ । “गाउँमा अभावको अर्को नामनै खिमप्रसाद हो”, उहाँले भन्नुभयो, “कतैबाट आर्थिक सहयोग भए उहाँलाई जीवन चलाउन निकै सहज हुने थियो ।”
वडाबाट समान्य सहयोग गर्न सकिने भए पनि गाउँमा आर्थिक अवस्था कमजोर भएका धेरै भएकाले आगामी बजेटमा प्रस्ताव लैजाने सदस्य छन्त्यालले बताउनुभयो । बिहानबेलुकी हातमुख जोड्न, लत्ताकपडासहित औषधि उपचारका लागि सहयोगको आवश्यकता रहेको उहाँको भनाइ छ ।

सम्पत्तीको नाममा सानो घर, केही जग्गा जमीन रहेपनि दृष्टिविहीन भएकै कारण प्रयोग गर्न तथा ज्याला मजदूरी गर्न नसक्ने भएकाले डोको बुन्न थालेको खिमप्रसादले बताउनुभयो । “दुईहातले छामछुम गरेरै भए पनि सकेसम्म डोको बुन्छु, धेरै पीडा हुँदा समेत आँशु आउँदैन्, भएको आँशु बगेर गइसक्यो”, दृष्टिविहीन खिमप्रसादले भन्नुभयो ।

बाँच्ने आधारनै डोको बुन्ने पेशा भएकोले नमरुञ्जेलसम्म हातले डोको बुन्ने उहाँको भनाइ छ । डोकोसहित आवश्यक साम्रगी बनाउन बाँसको चोया काट्ने क्रममा धेरैपटक हसिँयाले हातमा चोट लागे पनि त्यसको वास्ता नगरी डोको बुनिरहेको उहाँले बताउनुभयो । उहाँले बुनेका डोका गाउँमा नै खपत हुने गरेका छन् । दृष्टिविहीन भएकै कारण न्यूनतम आवश्यकताबाट समेत वञ्चित भएकालाई स्थानीय जनप्रतिनिधि तथा निकायबाट समेत सहयोग हुने गरेको छैन् । रासस