विप्लवका नेता -कार्यकर्ता पक्राउ पर्ने क्रम जारी : मध्यकमाण्ड इञ्चार्ज सहित ९ जना काभ्रेबाट पक्राउ

काठमाडौं, ९ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)लाई प्रतिबन्ध लगाएसंगै उनका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । यसै क्रममा शुक्रबार राति नेकपाका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ९ नेता कार्यकर्तालाई काभ्रेबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका ओलीसहितका ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको अनलाइनखबरलाई जानकारी दिए ।

‘हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्ता प्रहरीको नियन्त्रणमा पर्नु भएको छ,’ रानीपोखरीमा कार्यरत एक उच्च प्रहरी अधिकारीले अनलाइनखबरसँग भने ।

पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सबै मध्यकमाण्डका हुन् ।

प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । ओली प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि चार नेता कार्यकर्ता पक्राउ परेका थिए । तथापि, उनी त्यसको केही दिनपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।