प्रदेशसभामा विधेयक पेश भएका छन्

रुपन्देही, १८ पुस | प्रदेश नं ५ को प्रदेशसभामा आज बिभिन्न विधेयक पेश भएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्नुभएको हो ।

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सङ्घ संस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तर प्रदेश बासिन्दा समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केसीले प्रदेश नं ५ को प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो । त्यसअघि भूमि व्यवस्थामन्त्री पौडेलले प्रस्तुत गरेको दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले यसलाइ अझै व्यवस्थित गरी सभाबाट पारित गर्नुपर्ने बताउनुभयो ।

त्यसअघि प्रदेशसभाको विशेष समयमा प्रदेशसभा सदस्य तिलकराम शर्माले लुम्बिनीदेखि स्वर्गद्वारी, सुर्खेतको काँक्रेविहार, मानसरोवरलगायतका स्थानलाई जोडेर पर्यटकीय विकास गर्न जरुरी रहेकामा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य विजय यादवले बाढी प्रभावितले अहिलेसम्म पनि राहत नपाएकाले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै प्रत्येक स्थानीय तहअन्तर्गत एक सामुदायिक भवन बनाउने, एक पोखरी बनाउने नीति स्वागतयोग्य भएको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य दिपेशकुमार थारुले बर्दिया र कैलालीको सीमाका विषयमा विवाद भएकाले सीमाङ्कन गरी टुङ्ग्याउन आग्रह गर्नुभयो । रासस