गाउँपालिकाको केन्द्र तोकियो

राँझा, १८ पुस | लामो समयदेखि अन्योलमा रहेको बाँकेको जानकी गाउँपालिकाकोे केन्द्र मानपुरमा टुङ्गो लागेको छ ।

आज बसेको चौथो गाउँसभामा वडा नं ३ स्थित मानपुरमा गाउँपालिका केन्द्र तोक्ने प्रस्ताव सर्वसम्मत पारित भएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । हाल वडा नं ४ खजुराखुद्र्ध स्वास्थ्य चौकीको प्रसूति केन्द्रको भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । मानपुरमा रहेको १३ कट्ठा जमीनमा गाउँकार्यपालिकाको भवन निर्माण गरिने उहाँले जानकारी गराउनुभयो ।

भौगोलिक हिसाबले छ वटै वडाको पायक पर्ने भएकाले सबै जनप्रतिनिधि सर्वसम्मत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले बताउनुभयो । गाउँसभाले गाउँपालिकाभित्रको सडकको मापदण्ड, राजश्व दररेट, शिक्षा समिति गठन, गाउँपालिकाको सभाहल तथा खेल मैदान निर्माणलगायतका निर्णयसमेत पारित गरेको उहाँले जानकारी दिनुभयो । वडा नं ६ का अध्यक्ष सुरेश अहिरले गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्दा लामो समयदेखि रहेको अन्योल अब अन्त्य भएको बताउनुभयो । रासस