‘समृद्धि सबैको साझा चाहना’

बर्दिवास, ८ चैत । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समृद्धि सबैको साझा चाहना भएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा उद्योग वाणिज्य सङ्घको आयोजनामा दोस्रो बर्दिवास महोत्सव–२०७५ को आज उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको सम्पूर्ण ध्यान नै समृद्धिमा केन्द्रित भएको बताउनुभयो । समृद्धिका लागि उद्यम, कलकारखानाको विकास र कृषिमा आधुनिकीकरण अपरिहार्य भएकाले यस क्षेत्रमा लगानी लगाउन प्रदेश सरकारले आग्रह गरेको मुख्यमन्त्री राउतको भनाइ छ ।

“प्रदेश सरकारले लगानीमैत्री वातावरण बिकासका लागि २० वर्षसम्म कर छुटको व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “तपाईं लगानी गर्नुहुन्छ भने तत्परता देखाउनोस्, सरकारले तीन घण्टाभित्र उद्यम स्वीकृतिको सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिदिन्छ ।” प्रदेश सरकारले उद्यम स्थापनाका लागि जग्गासमेत उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो । आजदेखि शुरु भएको महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवमा १०० भन्दा बढी सुपथ मूल्यका व्यापारिक कक्ष राखिएका सङ्घका अध्यक्ष प्रह्लाद क्षत्रीले बताउनुभयो । रासस