सहिद स्मारक ए डिभिजन लिग : संकटा लिगको उपविजेता !

काठमाडौं, १८ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपविजेता संकटा क्लव बन्ने निश्चित भएको छ ।

बुधबार सम्पन्न खेलमा थ्री स्टारलाई २–१ गोल अन्तरले पराजित गरेपछि संकटाको दोस्रो स्थान पक्का भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एम्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन अमित तामाङले दुई गोल गरे । थ्री स्टारका रन्जन बिष्टले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा रन्जन बिष्टले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए ।

थ्री स्टारका सुनिल बलले आफ्नो डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा अमितले गोल गरेका हुन् ।

दोस्रो हाफमा संकटाले पुनः पेनाल्टी प्राप्त गर्यो । थ्री स्टारका बिक्रम लामाले सौजन राइलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले ६४ औं मिनेटमा पेनाल्टी पाएको थियो । जसमा अमितले पुनः गोल गर्दै संकटालाई २–१ को महत्वपूर्ण जित दिलाए ।

जितसंगै संकटाको १२ खेलबाट २८ अंक भएको छ भने थ्री स्टारको २३ अंक छ ।