अनलाइन व्यवस्था थाहा नहुँदा विश्वविद्यालयमा मास्टर्स पढिरहेका विद्यार्थी कोरिया भाषा परिक्षाको शुल्क तिर्न रातभरि लाइनमा !

काठमाडाैँ, ८ चैत्र । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाहरु लाइन लागेका छन् ।

ग्लोबल आइएमई बैंकका प्राय सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर देखियो ।

देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी आ–आफ्ना डेरा छोडेर बिहीबार साँझ खुला चौरमा आएका थिए । उनीहरूमध्ये केही खाना पनि त्यहीँ खाँदै थिए । कोही कम्बल ओढेर लाइनमा सुतिरहेका थिए ।

सरकारले अनलाइन प्रणालीबाटै परीक्षा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरे पनि आवश्यक जानकारी नहुँदा युवाहरू यसअघिका वर्षहरूमा जस्तै रातभर लाइनमा लागेका हुन् ।

यस वर्ष इसेवा, आइएमई पेलगायत माध्यमबाट सहजै परीक्षा शुल्क भुक्तानी गर्न सकिने ब्यबस्था छ । तर, अगाडि फारम भरे परीक्षा पनि अगाडि हुने र परिणाम पनि छिटो हुने विश्वासमा उनीहरू यसरी बैंक खुल्नुभन्दा १२ घन्टाअघि नै लाइन लागेका हुन् ।