साफ महिला च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्ध हुँदै, कसले मार्ला बाजी ?

विराटनगर, ८ चैत्र । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज शुक्रबार चिर परिचित प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबीच चौथो पटक उपाधिका लागि भिडन्त हुन लागेको हो ।

विराटनगरको शहीद रङ्गशालामा हुन लागेको फाइनल खेलमा दुवै टोली उपाधि चुम्ने होडमा हुनेछ । फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी गरेका थिए ।

प्रतियोगितामा पाँचौं पटक उपाधी जित्ने दाउमा रहेको भारतलाई हराउँदै पहिलो पटक नयाँ इतिहास कोर्ने आत्मविश्वासका साथ नेपाल मैदानमा उत्रिने तयारीमा देखिएको छ ।