रौतहटमा होली खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित ७ जना घाइते, दाङमा एक प्रहरी जवानमाथि निर्घात कुटपिट !

काठमाडौं, ७ चैत्र । नेपाल प्रहरीले होलिलाई ब्यबस्थित र मर्यादित बनाउन खोज्दा खोज्दै पनि यदाकदा अप्रिय घटना घटेका छन् । पहाडी भेगमा बुधबार मनाइएको होलीमा पनि छिटफुट अप्रिय घटनाहरु घटेका थिए भने तराइ भेगमा आज बिहिबार होलि मनाउने क्रममा पनि त्यस्ता घटना घटेका छन् ।

रौतहटमा बिहीबार होली खेल्नेक्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित ७ जना घाइते भएका छन् ।

रौतहटको सिमरा भवानीपुरमा बिहीबार होली खेल्दा झडप भएको प्रहरी निरीक्षक सन्तोश पाठकले डिसीनेपाललाई जानकारी दिए ।

दुई समूहबीच झडप भएपछि प्रहरीले नियन्त्रण गर्न खोज्दा अनियन्त्रित भीडले प्रहरीमाथि ढुंगा मुढा गरेको उनले बताए । प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ । झडपमा ३ जना प्रहरी र ४ जना अन्य घाइते भएका छन् ।

यसैगरी दाङमा पनि बिहीबार होली खेल्ने समूहले प्रहरीमाथि कुटपिट गरेको छ । युवतीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरी जवानमाथि निर्घात कुटपिट भएको जनाइएको छ ।

तुलसीपुर घर विदामा आएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरीमाथि निर्घात कुटपिट भएको हो । उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बिहीबार दिउँसो बाँके रेफर गरिएको छ ।

घाइते चौधरीकी दिदी सीता चौधरीका अनुसार बहिनी शोभालाई १०-१२ जनाको संख्यामा आएका युवाले बलजफती लखेटी लखेटी होली दल्न थालेपछि प्रहरी जवान चौधरी छुटाउन गएको समयमा कुटपिटमा परेका थिए ।