नैकापमा झुन्डिएर आत्महत्या गरेका युवकको शव पहिचान हुन नसक्दा ४० दिन देखि शिक्षण अस्पतालमा अलपत्र !

काठमाडौँ, ७ चैत्र । झुण्डिएर आत्महत्या गरेका एक युवकको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ४० दिनदेखि अलपत्र परेको छ । पहिचान खुल्न नसक्दा शव अलपत्र परेको जनाइएको छ ।

काठमाडौको चन्द्रागिरि नगरपालिका-१४, नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा समस्या भएको महानगरीय प्रहरी वृत्त, थानकोटले बताएको छ ।

प्रहरीका अनुसार आत्महत्या गर्ने युवकले आफ्नो घर धादिङको केराबारी बताउने गरेका थिए । मिस्त्री काम गर्दै आएका ती युवकले साथीहरुलाई फरक-फरक नाम भनेको कारण समस्या भएको हो । उनले कसैलाई आफ्नो नाम रवीन्द्र तामाङ त कसैलाई दिपक स्याङ्त्याङ बताउने गरेको बताइएको छ ।

प्रहरीलाई प्राप्त ठेगाना र पहिचानबाट मृतकको परिवार र आफन्तलाई फेला पार्न नसक्दा शव अलपत्र परेको हो । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । पोष्टमार्टमका लागि मृतकको परिवारले जाहेरी कानूनतः प्रावधानको कारण शवको पोष्टमार्टम हुन सकेको छैन ।

नागरिकता नभएको कारण मृतकले ठेकेदारहरुको नाममा रहेको सिम कार्ड प्रयोग गर्दै आएका थिए । आफन्त सम्पर्कमा नआएको भन्दै थानकोट प्रहरीले चिन्ने व्यक्ति वा परिवारका सदस्यले नजिककै रहेको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेको छ ।