‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम सुरु, माथिल्लाे त्रिशुली ३ बीको आजबाट शेयर बिक्री खुला, सबै भन्दा अगाडी प्रधानमन्त्री ओली र पत्नी राधिकाले किने २० हजार कित्ता शेयर

काठमाडाैँ, ७ चैत्र । नेपाल सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत पहिलोपटक आजबाट शेयर बिक्री खुला भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ३ ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । उहाँकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिनुभयो । यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ ।

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।

आजबाट बिक्रीमा आएकाे माथिल्लाे त्रिशुली ३ बीकाे शेयरकाे अ‌ंकित मूल्य प्रतिकित्ता रु १०० भए पनि पहिलाे चरणमा भने साे रकमकाे १० प्रतिशत अर्थात रु १० दशप्रतिकित्ताका दरल‍े आवेदन दिनुपर्ने व्यवस्था गरिएकाे छ । बाँकी भुक्तानी आयाेजनाकाे काम ७५ प्रतिशत सम्पन्न भएपछि मागिने आयाेजनाले जनाएकाे छ ।

जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेर यस्ता आयाेजनाहरुमा सर्वसाधारणबाट शेयर पूँजीको १० प्रतिशत अग्रिम संकलन गर्न सकिने व्यवस्था गरिएकाे हाे ।

माथिल्लाे त्रिशुली ३ बी काे जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँ रहेकाे छ र साेकाे १५ प्रतिशत अर्थात् कूल ३७ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरिएकाे हाे ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । शेयरमा आवेदन दिने म्याद यही चैत ११ गतेसम्म रहेकाे छ । साे अवधिमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा भने २०७६ वैशाख ६ गतेसम्म आवेदन गर्न पाइने जनाइएकाे छ ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावटको याे आयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । आयोजना लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएकाे छ ।

त्रिसुली ३ बि संगै नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ । कार्यविधिअनुसार यस कार्यक्रम अन्तर्गतका हरेक आयोजनामा ५१ प्रतिशत सरकारकाे तथा ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहनेछ ।

यसरी दिनुहोस आवेदन

सीआस्वा सेवा संचालनको अनुमति पाएका बित्तीय संस्था र तिनका शाखा वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । शेयर आवेदनक लागी डिम्याट खाता आवश्यक हुन्छ ।