मेडिकल कलेजको ठगी धन्दामा त्रिविका उपकुलपति खनियाँको साथ !

काठमाडौँ, ७ चैत्र । शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी–अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

पटक–पटक विद्यार्थी–अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएपछि उनैले संरक्षण गरेको खुलेको हो ।

उपकुलपति खनियाँकै आड भरोसामा मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् ।

विद्यार्थीको उजुरी र त्रिविकै अनुगमन निर्देशनालयले गरेको छानबिनमा अघिल्लो शैक्षिक सत्रमै मेडिकल कलेजले विद्यार्थीबाट लाखौं अवैध शुल्क उठाउँदै आएको पाइएको थियो ।

उजुरी र छानबिन समितिको प्रतिवेदनलाई कार्यकारी परिषदमा लगेर कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्नुमा खनियाँलाई रजिस्ट्रार डिल्लीराम उप्रेतीले पनि साथ दिएका छन् ।