ज्येष्ठ नागरिकलाई उज्यालो

तुलसीपुर, ६ चैत। राजपुर गाउँपालिका– १ की ७७ वर्षीया जइकली रसाइलीको आँखा बन्द भएको दुई वर्ष भएको थियो । अस्पतालसम्म आउने पैसा नहुँदा उहाँले उपचार पाउन नसके पनि स्थानीय सरकारले उहाँको आँखा उपचार गरी उज्यालो देखाएदियो ।

मोतियाबिन्दुका कारण आफ्नो आँखा विस्तारै बन्द भएको र शल्यक्रियापछि पहिले जस्तै देख्न पाएको भन्दै रसाइलीले खुशी व्यक्त गर्नुभयो । उहाँमात्र होइन रसाइलीका श्रीमान् मानबहादुर रसाइलीले पनि खुशी व्यक्त गर्नुभयो । “आर्थिक अभावका कारण मोतियाबिन्दुको शल्यक्रिया हुनसकेको थिएन, तर आज स्थानीय सरकारले हामीलाई उज्यालो दिएको छ”, रसाइलीले भन्नुभयो ।

त्यस्तै सोही ठाउँका ७० वर्षीया गौरी केसीले पनि आफू तीन वर्षपछि आँखाले छर्लङ्ग देख्न पाउँदा खुशी भएको बनाउनुभयो । “स्थानीय सरकारले हामीलाई उज्यालो दियो, आँखा देख्न छोडेको तीन वर्ष भएको थियो, तर आज मैले पहिले जस्तै देख्ने भएको छु”, उहाँले भन्नुभयो ।

यहाँका धेरै वृद्धवृद्धाले स्थानीय सरकारले आफूहरुको आँखाको निःशुल्क जाँचका साथै मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको भन्दै खुशी व्यक्त गरे । दाङको विकट गाउँपालिका राजपुर गाउँपालिकाले पालिकाभित्र मोतियाबिन्दुका कारण अन्धोपन बिताइरहेका ८७ जनाको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका बिरामीको उपचार गरी मोतियाबिन्दुको न्यूनीकरण गरेर जनतालाई उज्यालो दिने कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति सङ्घ र लमही आँखा अस्पतालसँगको सहकार्यमा आँखा स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष विष्णुबहादुर बुढाथोकीले बताउनुभयो । “विकास निर्माणले मात्र समृद्ध होइन, सहज स्वास्थ्य सेवाको पहँच पु¥याउन पनि हामीले यस्तो कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो । उहाँले यस आर्थिक वर्षमा गाउँपालिकाले रु आठ लाख रकम विनियोजन गरेको र आगामी वर्ष रकम बढाइउने बताउनुभयो ।

गाउँपालिकामा अस्पतालको तथ्याङ्कअनुसार २५४ जना मोतियाबिन्दुका बिरामी रहेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । त्यस्तै गढवा गाउँपालिकाले पनि स्थानीय तहमा गरीब, विपन्न परिवारका ११२ जनालाई आँखामा मोतियाबिन्दु भएको निःशुल्क शल्यक्रिया गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । सो गाउँपालिकामा पनि ३९१ मोतियाबिन्दुका बिरामी रहेका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम शुरु गरेको छ । उपमहानगरपालिकामा तीन वर्षभित्र आँखामा मोतियाबिन्दुका कारण उपचार पाउन नसकेका नागरिकलाई उपचार गर्ने लक्ष्यसहित कार्यक्रम शुरु गरेको स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो । उपमहानगरले वडा नं १ र २ मा रहेका ५१ ज्येष्ठ नागरिकको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको छ । उपमहानगरमा एक हजार ४२४ मोतियाबिन्दुका बिरामी छन् । रासस