होली मनाउन काठमाडौंबाट पोखरा जाँदै गरेका युवकको बाटैमा मृत्यु

धादिङ, ६ चैत्र । काठमाडौंबाट होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।