संस्कृतिको संरक्षण गर्न पञ्चेबाजा सहयोग

बेझाड, ६ चैत।रामपुर नगरपालिका–६ ले कला संस्कृतिको संरक्षण गर्न श्रीकृष्ण पञ्चेबाजा समूहलाई पञ्चेबाजा सहयोग गरेको छ ।

वडाको आर्थिक वर्ष ०७५÷०७६ को रु ६० हजार विनियोजित रकममार्फत् बाजा सहयोग गरेको हो । सो सहयोगअन्तर्गत सहनाई, ट्याम्को, ढोलक, नरसिङ्गा, झुर्मालगायतका पञ्चेबाजाका सामान वितरण गरिएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले पञ्चेबाजा हस्तान्तरण गर्दै विशेष चाडपर्वमा प्रयोग गरेर कला संस्कृतिलाई बचाई राख्न अनुरोध गर्नुभयो । पछिल्लो समय गाउँघरबाट पञ्चेबाजा हराउँदै जान थालेपछि कला संस्कृतिको संरक्षण गर्न पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

लागुऔषध खरीद बिक्री गर्ने पक्राउ

लागुऔषध खरीद बिक्री गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । २० वर्षीय सहाबुद्धिन नाउँलाई तानसेन नगरपालिका–४ को हुलाक मोडमा मङ्गलबार विशेष सूचनाको आधारमा लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देहीको साविक फरेना गाविस ५ घर भई हाल तानसेन नगरपालिका–४ मा डेरामा बस्दै आएका नाउँको शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगरजस्तो चिजवस्तु २६ मिलिग्राम, नेपाली नगद रु एक हजार ५०० फेला पारेको छ ।

उनले तानसेन नगरपालिका–५ बस्ने २४ वर्षीय मोहमद मिँयासँग लागुऔषध ब्राउन सुगर खरीद गरेको खुलासा भएपछि मिँयालाई समेत पक्राउ गरी उनीहरुलाई पाल्पा अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ । रासस