उद्योग र पर्यटनका क्षेत्रमा सहकार्य जरुरी

पाल्पा, ६ चैत । उद्योग र पर्यटनका क्षेत्रमा उद्योग वाणिज्य सङ्घहरुबीच सहकार्य गरी काम गर्न जरुरी रहेकोे सरोकारवाला पक्षको जोड छ । पाल्पा र नवलपरासीका उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रममा सहयोग र समन्वय भएका पाल्पा र नवलपरासीलाई धार्मिक, पर्यटन, सडक र उद्योग तथा व्यापारमा सहकार्य हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पाल्पामा प्रशस्त धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल रहेको बताउनुभयो । उहाँले पाल्पालाई बुद्ध सर्किटसँग जोड्न सकेमा पर्यटकीय दृष्टिकोणले राम्रो हुने बताउनुभयो ।

सङ्घका पूर्वध्यक्ष चकोरमान शाक्यले नवलपरासी उद्योग वाणिज्य सङ्घले विगतमा पनि पाल्पा उद्योग वाणिज्य सङ्लाई सहयोग गरेको र अगामी दिनमा पनि सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो । पाल्पा ऐतिहासिक जिल्ला रहेकाले यसको प्रचार दुई जिल्लाको उद्योग व्यवसायीबाट हुनुपर्ने उहाँको भनाइ थियो ।

नवलपरासी उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव भण्डारीले महेशपुर नाका मूल भन्सार नाकामा परिणत भएसँगै नवलपरासी र पाल्पालाई उद्योग प्रर्वद्धन र विकासका साथै पर्यटकीय तथा धर्मिक दृष्टिकोणले जोड्न सकेमा मात्र दुवैलाई फाइदा पुग्ने बताउनुभयो ।

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई युवालाई तानसेनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला फरेना स्थायी घर भएका हाल तानसेन नगरपालिका–४ मा डेरा गरी बस्ने २० वर्षीय सहाबुद्दिन नाउँ र सोही ठेगाना घर भई हाल तानसेन नगरपालिका–५ मा बस्दै आएका २४ वर्षीय मोहमद मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नाउँ र मियाँलाई लागुऔषध ब्राउनसुगर खरीद गरी बोकी हिँडेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिई नाउँको शरीर खानतलासी गर्दा निजको साथबाट लागुऔषध ब्राउनसुगर २६ मिलिग्राम, नेपाली नगद रु एक हजार पाँच सय फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।