पूर्वराजा र भारतीय राजदुतबीच मध्येराती ‘गोप्य वार्ता’, प्रधानमन्त्री कार्यालयद्वारा स्पष्टिकरण माग

काठमाडौं, ६ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच गोप्य भेटवार्ता भएको छ ।

तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत (शनिबार) मा जनकपुरको शीताशरण होटलमा गोप्य भेटवार्ता भएको हो ।

उच्च सरकारी स्रोतका अनुसार दुई जनाबीच राति १०:४५ बजेदेखि ११:३० बजेसम्म गोप्य भेटवार्ता भएको आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

झन्डै पौने घण्टासम्म भएको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ ।

पूर्वराजा ज्ञानेन्द्र जनकपुरको जानकी मन्दिरमा पूजाआजा गर्न तथा अन्य विभिन्न धार्मिक कार्यक्रमका लागि गत २९ फागुनमा जनकपुर पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र जनकपुरमै भएका बेला भारतीय राजदूत पुरी पनि रेलमार्गको निरीक्षण गर्ने सिलसिलामा २ चैतमा जनकपुर पुगेका थिए ।

उनीहरू दुवै जना जनकपुरको शीताशरण होटमा बसेका थिए । ‘एउटै होटलमा बसेकाले आकस्मिक भेट भएको हुन सक्छ,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजदूत पुरीले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको बारेमा परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको छ ।