७८ लाख घुस लिएका पूर्व आयुक्त पाठकसँग बयान लिन सुरु, पाठक २४ सै घण्टा प्रहरी निगरानीमा

काठमाडौं, ६ चैत्र । ७८ लाख रुपैयाँ घुुस लिएको अभियोग लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पदबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिइएको छ ।

पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो ।

बेलुका पाठकलाई निवासमै लगेर छोडिदिएको पनि समाचारमा उल्लेख गरिएको छ । यद्यपी उनीसँग बयान नसकिएको अख्तियारले जनाएको छ ।

पाठकलाई अख्तियार र काठमाडौं प्रहरीको विशेष टोलीले २४ सै घण्टा निगरानीमा राखेका छन् ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भनी कलेजका संस्थापक सञ्चालक लम्बोदर न्यौपानबाट ७८ लाख रुपैयाँ घुस लिएको तथ्य खुलेपछि पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।