आज होली पर्व : पहाडी क्षेत्रमा धुमधामले मनाइँदै, तराईमा भोलि

काठमाडौँ, ६ चैत्र । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको ललितपुर महानगरबाट वसन्तपुर कार्यालयमा आएकी मनिता महर्जनले सुनाए ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।