अब जात नजनाईकाँ उपनाम राखेर मात्रै पनि नागरिकता लिन पाउने !

काठमाडौं, ५ चैत्र । अब कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो ।

थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।

यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिङ्गीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ ।

समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ ।

यसैगरी यसअघि नागरिकता प्राप्त गरिसकेको व्यक्तिको हकमा पनि ऐन जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्यस्ता त्रुटीसमेत सच्याउन सक्नेछन् ।