पूर्वीय निर्माण शैली परिपक्व र टिकाउ

काठमाडौँ, ५ चैत । ‘संस्कृत नेपाल–भारतको विशिष्ट सम्पत्ति’ विषयक तीनदिने गोष्ठी राजधानीमा शुरु भएको छ । भारत सरकार संस्कृति मन्त्रालय र भारतीय राजदूतावासको आयोजनामा शुरु भएको गोष्ठीमा संस्कृत क्षेत्रका ५५० भन्दा धेरै विद्वान्को सहभागिता छ । गोष्ठीमा नेपालका विद्वान्ले ३० र भारतका विद्वान्ले १० गरी ४० कार्यपत्र प्रस्तुत हुनेछ । संस्कृतसँग जोडिएका सबै विषयमा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।

गोष्ठीको आज उद्घाटन गर्नुहुँदै शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले ओमकार परिवारका सबै धर्मावलम्बीको सांस्कृतिक वैभवको मुख्य आधार संस्कृत भाषा नै भएको बताउनुभयो । “संस्कृत र संस्कृतिले दुई देशलाई जोडेको छ, संस्कृत साहित्यका महत्वपूर्ण ग्रन्थ मुसलमानको आक्रमणसँगै भारतबाट लोप भयो, त्यस्ता ग्रन्थ अहिले पनि नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ, अभिलेखालयमा विश्व सम्पदा सूचीमा राख्न लायक सामग्रीको सङ्कलन छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुई देशबीचको सभ्यता जोड्ने काम संस्कृत भाषा साहित्यले गरेको बताउनुभयो । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्रा विराज राजेन्द्र मिश्रले संस्कृत भाषा मोक्ष प्राप्तिको सिँढी भएकाले यसको महत्व कहिल्यै कम नहुने सुनाउनुभयो । विश्वमा छ हजार वर्षअघि अरु कुनै भाषाको अस्तित्व नहुँदा पनि संस्कृत नै सबैको भाषा रहेको उहाँले बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संस्कृत नेपाल–भारतको निधिका साथै सभ्यताको ज्ञान दिने स्रोत भएको बताउनुभयो । वेद पुराणले यसको प्रतिनिधित्व गर्ने उहाँको भनाइ थियो । संयुक्त राष्ट्रसङ्घका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा जयराज आचार्यले संस्कृत भाषामा रहेको योग र आयुर्वेदको ज्ञानप्रति हाल युरोप र अमेरिकामा समेत आकर्षण बढेको सुनाउनुभयो ।

‘नेपालमा संस्कृतको सम्भाव्यता’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दीनेशराज पन्तले पाश्चात्य निर्माण शैलीभन्दा पूर्वीय निर्माण शैली बढी टिकाउ हुने १८९०, १९९० र २०७२ सालको भूकम्पले प्रमाणित गरेको बताउनुभयो ।

“विसं १६२० मा राजा महेन्द्र मल्लले बनाएको तलेजु भवानीको मन्दिरमा तीनवटै भूकम्पले ठूलो क्षति पुगेन, पाश्चात्य शैलीमा भीमसेन थापाले निर्माण गरेको दुवै धरहरा विसं १८९० कै भूकम्पले भत्कियो र वास्तुनियम पालना गरेर निर्माण भएका संरचना टिकाउ हुने कुराको यो प्रमाण हो”,उहाँले भन्नुभयो ।

आधुनिक शैलीमै विसं १९५१ मा निर्माण भएको घण्टाघर पनि १९९० कै भूकम्पले भत्किएको उदाहरण पनि प्राज्ञ पन्तले पेश गर्नुभयो । भूकम्पले सयौँ वर्ष नाघेका धेरै सम्पदामा खासै क्षति नपुग्नुले वास्तु नियम पालना गर्न स्मरण गराएको उहाँको तर्क थियो । जीवनयापनका हरेक विषयमा व्यावहारिक ज्ञान भएको संस्कृत भाषाको अध्ययन एवं अध्यापन लोप हुँदै जाँदा आम मानिसले दुःख पाउनु परेकोतर्फ सबैको ध्यान जानुपर्ने पन्तको कार्यपत्रमा उल्लेख छ ।

‘हिन्दू र बौद्ध दर्शनमा संस्कृत भाषा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा काशीनाथ न्यौपानेले संस्कृत भाषामा आस्तिक र नास्तिक दुवै दर्शन रहेको बताउनुभयो । आधुनिक नास्तिक दर्शनको स्रोत संस्कृत भाषाको चार्वाक दर्शन भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा केदारनाथ शर्मा, भारतबाट गोष्ठीमा प्रतिनिधित्व गर्नुहुने विद्वान् सत्यव्रत शास्त्री, भारतीय विदुषी डा दीप्ती त्रिपाठी लगायतका वक्ताले आधुनिक युगमा बढ्दै गएको संस्कृत भाषाको आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो ।

बिहीबारसम्म राजधानीमा सञ्चालन हुने गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका १२ वटै आङ्गिक र दुईवटा सम्बन्धन प्राप्त विद्यापीठ, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय संस्कृत विभाग र भारतका विद्वानहरुको सहभागिता छ । कार्यक्रमको अन्त्यमा संस्कृत भाषासम्बन्धी काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ । रासस