निर्मला बलात्कार- हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी विष्टद्वारा अदालतमा आत्मसमर्पण

कञ्चनपुर, ५ चैत्र । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका निलम्बित पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।

प्रमाण नष्ट गरेको अभियोग लगाउँदै उनीसहित ८ जनाविरूद्ध अदालतमा मुद्दा दायर भएपछी फरार रहेका बिष्ट आज मगलबार जिल्ला अदालत कञ्चनपुरमा बयानका लागि उपस्थित भएका हुन् ।

‘उहाँ आज उपस्थित हुने निवेदन लिएर आउनुभएको छ । एकछिनमा बयान सुरू हुन्छ,’ जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भने ।

न्यायाधीश राजेन्द्र आचार्यको इजलासमा उनको थुनछेक बयान हुनेछ । बयान सकिए बहस सुरू हुनेछ । बहस पनि सकियो भने उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा तारेखमा छोड्ने निर्णय अदालतले गर्ने छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ बर्षीय बालिका निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरिएको थियो ।