अर्थोपार्जनमा कैदीबन्दी

– पेमा लामा

बनेपा, चैत ४। जिल्ला कारागार धुलिखेलका कैदीबन्दी थुन्से, मुडा र पोते बुनेर आर्थिक आम्दानी गर्न थालेका छन् । कारागार प्रशासनले समयको सदुपयोग गर्दै कैदीबन्दीको आचरणमा सुधार ल्याउन विभिन्न सीपमूलक काम गर्न प्रेरित गरेपछि उनीहरु सीपमूलक काममा व्यस्त बनेका हुन् ।

बहुविवाह मुद्दामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहनुभएका हिकमत सिं लामा भन्नुहुन्छ, “दुई जनाले दिनमा ४०÷४१ वटासम्म थुन्से बुन्दै आएका छौँ ।”

सो मुद्दामा बन्दी जीवनमा परेपछि त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले चार महीना अगाडिदेखि यस्तो काम गरिरहेको लामाले बताउनुभयो । चोया काट्ने, बीट गर्ने र बुन्नका लागि चकटी बनाउने काम फरक फरक व्यक्तिले गर्दछन् । त्यसरी काम गरे बापत दिनको रु १०० देखि १२० सम्म कमाइ हुन्छ । “कमाएको पैसाले जेल भित्रको खाना खाजाको अतिरिक्त बाँकी पैसा घरमा श्रीमतीलाई पठाउने गरेको छु ।” उहाँले भन्नुभयो ।

ज्यान मुद्दामा कारागारमा रहनुभएका रामकृष्ण न्यौपानेले ६÷७ महीना अगाडिदेखि थुन्से बुन्ने काम गरेको बताउनुभयो । कारागारभित्रै थुन्से बुन्ने सीप सिकेको बताउँदै उहाँले सो कामबाट महीनाको दुई÷तीन हजार आम्दानी गरेको बताउनुभयो । “कमाएको सबै पैसा घरमा पठाउँछु”, उहाँले भन्नुभयो ।

त्यसैगरी बालविवाह मुद्दामा बन्दी जीवन बिताइरहनुभएका राम दनुवार कारागार भित्रैको एउटा कुनामा मुडा बुनिरहेको भेटिनुभयो । दिनको एक दुईटासम्म मुडा बुन्ने गरेको उहाँको भनाइ थियो । “यही आएर मुडा बुन्ने सीप सिकेको हु, एउटाको २०० रुपैया मिल्छ, महीनामा काम हेरेर छ देखि आठ हजारसम्म कमाउँछु ।” कमाएको सबै पैसा घरमा पठाउने गरेको उहाँले बताउनुभयो । मुडा बुन्न चार÷पाँच जनाको आवश्यकता पर्दछ ।

अर्का बन्दी सुप्रिम वाइबाले १५ महीना अगाडिदेखि निरन्तर मुडा बुन्ने काम गर्दै आउनुभएको छ । त्यहीनै सीप सिकेर काम गरिरहनुभएका उहाँले दिनको रु १५० देखि २०० सम्म कमाउने गरेको बताउनुभयो । “राम्रोसँग सीप सिक्न एक महीना लाग्यो ।” ग्रामीण विकास विषयमा कक्षा ११ मा अध्ययनरत उहाँले भन्नुभयो, “अहिले दिनको २÷३ वटासम्म मुडा तयार गर्छु, यही पैसाबाट क्याम्पस पढिरहेको छु ।”

मुडा बुन्ने काम हेर्ने संयोजक सुरज थापाले एउटा मुडा बनाए बापत रु १६० पाउने गरेको बताउनुभयो । सामान ल्याएको पैसा कटाएर बाँकी पैसा उनीहरुले नै पाउने गरेको उहाँको भनाइ थियो । बाँस, रङ्ग, धागो लगायतका सामान बाहिबाट ल्याएर बनाउने गरिन्छ । त्यसरी बनाएको एउटा मुडा चारसय ५० रुपैयामा बिक्री हुन्छ । त्यहाँ दिनको २५÷३० वटा मुडा उत्पादन हुन्छ ।

पानी पर्दा कहिलेकाही रोकिनेबाहेक अरु बेला निरन्तर काम भइरहन्छ । थापाले भन्नुभयो, “कच्चा कदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले कहिलेकाही काम हुँदैन, त्यसबाहेक काम निरन्तर चलिरहेको छ ।” जिल्ला कारागार प्रमुख जंगबहादुर राईले कारागारमा कैदीबन्दी जीवन बिताइरहेकाको समय सदुपयोग गर्न सीपमूलक कामलाई प्राथमिकता दिएको बताउनुभयो । आफू प्रमुख भएर आएको बेला २०÷२५ जनाले मुडा र थुन्से बुन्ने काममा व्यस्त रहेको देखेपछि त्यसलाई बढावा दिँदै लागेको उहाँको भनाइ थियो । सीपमूलक कामले व्यक्तित्व विकास र आचरण सुधारमा सहयोग पुगेको छ ।

“भएका कैदीबन्दीमध्ये अहिले ४०÷५० जना मुडा र थुन्से बनाउने काममा संलग्न छन्”, उहाँले भन्नुभयो, “दुई महीनादेखि पोते उन्ने काम भइरहेको छ ।” पोते उन्ने काम शुरुआती चरणमा भएकाले त्यति कमाउने अवस्था नभएको र अन्यमा भने कमाई राम्रो भइरहेको उहाँको भनाइ थियो । कारागारमा भएका २३० जनामध्ये ७९ थुनुवा (बन्दी) र १५१ कैदी छन् । साप्ताहिक निरीक्षणमा काम गर्नेलाई उत्साह दिँदै आएको कारागार प्रमुख राईले बताउनुभयो । रासस