सेमिफाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने

विराटनगर, ३ चैत्र । महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

साविक विजेता भारतसँग पराजित भएपछि नेपालले सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्दी पाएको हो ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकाविरुद्धको फराकिलो जितसंगै भारत समूह बी मा ६ अंक जोडेर समूह विजेता बनेको हो । पराजित श्रीलंका ३ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब भारतले सेमिफाइनलमा बंगलादेशसंग खेल्नेछ । बंगलादेश समूह ए को उपविजेता हो । यस्तै श्रीलंकाले समूह एको विजेता नेपालसंग खेल्नेछ ।

श्रीलंकाविरुद्ध एकतर्फी जित निकाल्न भारतका लागि दाङमेई ग्रेस, सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान, संगिता बास्फोरे र रतन बाला देवीले एक एक गोल गरिन् ।

भारतले पहिलो हाफमै ४ गोल गरेको थियो । पहिलो हाफको तेस्रो मिनेटमै सन्ध्या रंगनाथनको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

खेलको सातौं मिनेटमा सन्जु यादवको पासमा सन्ध्याले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् ।

खेलको ३६ औं मिनेटमा इन्दुमतिले गोल गर्दा भारत ३–० ले अघि रह्यो । खेलको ४५ औं मिनेटमा संगिताले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा भारतलाई ४–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा भारतले एक गोल थप्यो । खेलको ४७ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ५० को जित निकाल्यो ।

सेमिफाइनल अब ६ गते हुनेछ । पहिलो खेलमा नेपालले श्रीलंकासंग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा तिन बजे भारतले बंगलादेशसंग खेल्नेछ ।