कोरियन भाषा परीक्षाको शुल्क यस वर्षदेखि अनलाइनबाटै तिर्न सकिने !

काठमाडौँ, ३ चैत्र । इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको शुल्क तिर्नलाई अब लाइनमै बसिरहन नपर्ने बताएको छ ।

इपिएस कोरिया शाखाले परीक्षार्थीलाई सहजता प्रदान गर्न भाषा परीक्षाको शुल्क ई सेवाबाट तिर्न सकिने गरी व्यवस्था मिलाएको हो ।

अघिल्लो वर्ष इपिएस कोरिया शाखाले ग्लोबल आइएमई बैंकका शाखाहरुमा पुगेर शुल्क तिर्न सक्ने व्यवस्था गरेको थियो । बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गरेर चाप कम नभएपछि शाखाले ई सेवाबाटै तिर्न सकिने सकिने व्यवस्था गरेको हो ।

इपिएस कोरिया शाखाका अनुसार बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गर्दा गत वर्ष समय हुँदा पनि चाप देखिएको थियो । जसले पहिले शुल्क तिरेर फारम छिटो भर्छ त्यो नै छिटो जान पाउँछ भन्ने भ्रम समेत फालिएको कारण हालको वर्ष देखि लागू हुनेगरी शुल्क ई सेवाबाटै तिर्न सकिने व्यवस्था मिलाइएको शाखाले जानकारी दिएको छ ।

परिक्षार्थिले शुल्कबापत २४ डलर बराबरको नेपाली रुपैयाँ बुजाउनु पर्ने हुन्छ । ई सेवा मार्फत ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा लगइन गरेर अनलाइनबाटै फारम भर्ना सकिने इपिएस शाखाले जानकारी दिएको छ ।