पञ्चकन्याले राष्ट्रिय गान गाएसँगै लहानमा शुरु भयो सिके राउतको बैठक, बैठकमा सहभागी हुने सबैलाई नागरिकता ल्याउन उर्दी जारी !!

काठमाडौँ, ३ चैत्र । केहि दिनअघि सरकारसँग ११ बुँदे सहमति गरेका सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठक सिरहाको लहानमा शुरु भएको छ ।

रातो साडीचोलोमा सजिएका पञ्चकन्याले “सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली” भन्दै राष्ट्रिय गान गाएसंगै गठबन्धनको राष्ट्रिय परिषद बैठक औपचारिक रुपमा शुरु भएको हो ।

राउतले स्वतन्त्र मधेसको एजेण्डा नछाडेको भनेर आलोचना भैरहेका बेला राष्ट्रिय गान सहित बैठक शुरु गर्दै गठबन्धनले सकारात्मक संदेश दिन खोजेको आकलन गरिएको छ ।

यस्तै गठबन्धनले बैठकमा सहभागी हुनेहरुलाई अनिवार्य नागरिकता ल्याउन पहिलानै उर्दी जारी गरिसकेको छ । ११ बुँदे सम्झौता भैसकेको अवस्थामा भावी रणनीति तय गर्नको लागि गठवन्धनले बैठक बोलाएको थियो । आइतबार शुरु भएको बैठक सोमबार सम्म चल्ने बताइएको छ।

बैठकमा गठवन्धनको भावी रणनीति बारे छलफल हुनेछ। साथै ‘स्वतन्त्र मधेस गठबन्धन’ नाम फेरिनु पर्ने माग भैरहेको बारे पनि बैठकमा चर्चा हुने गठवन्धन निकट श्रोतले बताएको छ ।