प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा दिने

काठमाडौँ । माघे संक्रान्तिको अवसरमा प्रदेश ५ सरकारले दुईदिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

मंगलवार बसेको मन्त्रिपरिषद बैठकले माघ १ र २ गते गरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । थारु र मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा माघी पर्व धुमधामका साथ मनाउने गरिन्छ।

माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ ।

प्रदेशस्तरीय नेपाल मगर सङ्घ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए।