सीप सिक्दै स्वरोजगार बन्दै गृहश्रमिक

–सिवी अधिकारी

काठमाडौँ, २ चैत। साहुको भरमा जीविको गुजार्दै आएकी ललितपुरकी विन्दा श्रेष्ठले अहिले आफँै टेलरिङ व्यवसाय सञ्चालन गरेर सात जनालाई रोजगारीसमेत दिलाउनुभएको छ ।

सिलाइबुनाइ व्यवसायमा विगत १२ वर्षदेखि सक्रिय वडा नं २४ की श्रेष्ठले उक्त व्यवसाय सञ्चालन गरेको पाँच वर्ष भयो । उहाँको सारथी बनिदियो होमनेट नेपाल नामक संस्था । उक्त संस्थाकै सहयोगमा व्यवसाय सञ्चालनका साथै रोजगारी दिन सफल उहाँले राम्रो आम्दानी गर्नुभएको छ ।

“पहिला साहुकोमा काम गर्थे अहिले आफैँले व्यवसाय चलाइरहेको छु, सात जना यही काम गर्छन्, आगामी दिनमा थप लगानी गरेर अझै धेरैलाई रोजगारी दिने योजनामा छु”, उहाँले भन्नुभयो । श्रीमान् रोजगारीका लागि दुबईमा हुनुहुन्छ । उहाँले दुई बच्चालाई राम्रो शिक्षादीक्षा दिनुभएको छ । उहाँजस्तै स्थानीय सानुमाया पहेली विगत पाँच वर्षदेखि फ्युचर ब्याग उद्योगको सञ्चालक हुनुहुन्छ । पहिला साहुको मा काम गर्ने उहाँले अहिले पाँच जनालाई रोजगारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “पहिला साहुकोमा काम गरिन्थ्यो, अर्काकोमा कति गर्ने भनेर आफैँ शुरु गरेकी हुँ, उद्यम खोल्न होमनेटले मेशिन उपलब्ध गराएको थियो, गाउँलेलाई रोजगार पनि दिएको छु ।” चुरापोते र सिलाइको काम गर्ने धापाखेलकै नन्दकुमारी महर्जन छिट्टै आफैँ उद्योग खोल्ने योजनामा हुनुहुन्छ ।

होमनेट नेपालले सञ्चालन गरेको खाद्य सुरक्षा तथा जीविकोपार्जन परियोजनाअन्तर्गत भूकम्पपीडित, शहरी गरीब, गृहश्रमिकलाई सीपमूलक तालीम र रोजगारी कार्यक्रम प्रभावकारी देखिएको छ । सो संस्थाले रोजगारीको खोजीमा रहेका भूकम्पपीडित, शहरी गरीब, गृहश्रमिक तथा युवाको विवरण लिई रोजगारदाता संस्थासँग समन्वय गरी रोजगारीसमेत उपलब्ध गराउँदै आएको छ ।

ललितपुर–२४ का वडा सदस्य सदस्य निशा मालबुनका अनुसार होमनेट नेपालले गृहश्रमिकको जीविकोपार्जनमा महत्वपूर्ण सहयोग पु¥याएको छ । पहिला साहुकोमा काम गर्ने श्रमिक महिला अहिले आफैँ व्यवसाय सञ्चालन गरिरहेका छन् ।

वडाको तर्फबाट पनि दुईदेखि तीन महीने सिलाइ सिकेका गृहश्रमिकलाई डिजाइन सिक्ने इच्छाबमोजिम सहयोग गर्ने उहाँले बताउनुभयो । होमनेट नेपाल तथा अक्सफामको सहकार्यमा स्थापित होम क्रिएसन प्रालि धापाखेलका कोषाध्यष शान्ति महर्जनले गृहश्रमिकलाई सीपमूलक तालीमका साथै रोजगारी दिइएको र धापाखेलमा मात्रै सिलाइ र बुनाइमा ३५ भन्दा बढी आबद्ध रहेका जानकारी दिनुभयो ।

होमनेटका परियोजना संयोजक अमित अधिकारीले गृहश्रमिकको जीवन सुधारका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिएको बताउनुभयो । उहाँले गृहश्रमिकद्वारा उत्पादन गरिएका विभिन्न किसिमका सामग्रीको प्रवद्र्धन तथा बजारीकरणका लागि पाटनमा होम क्रिएसन ‘आउटलेट’ स्थापना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमअनुरुप भूकम्पलगत्तै श्रमिकको बस्ने ठाउँ र रोजगारी गुमाएकालाई जीविकोका लागि पहिलाकै अवस्थामा फर्काउनको लागि विभिन्न किसिमका मेशिन औजार प्रदान गरिनुका साथै कार्यथलो अभावमा सामूहिक उत्पादन केन्द्र स्थापना गरी रोजगारी सिर्जना गरिएको छ । संस्थाले ‘अर्बान जब हब’ नामक कम्पनी स्थापना गरी अनौपचारिक क्षेत्रमा लागेका कम लेखापढी भएका ‘जोसँग सीप, क्षमता र इच्छा छ’ उनीहरुलाई रोजगारको अवसर खोज्न र सीप क्षमता बढाउनुका साथै उत्पादित सामग्रीको बजारीकरणका लागि महत्वपूर्ण थलोका रुपमा स्थापित भएको संयोजक अधिकारीले उल्लेख गर्नुभयो ।

यस्तै १०० विपन्न श्रमिकलाई स्थानीय सहकारीमा आबद्धता गराई कम ब्याजदरमा ऋण उपलब्ध गराएर व्यवसाय सञ्चाल गर्न पनि सहयोग गरिएको छ ।
होमनेटका बजार प्रवद्र्धन अधिकृत तारानाथ सिक्देलले स्थानीय श्रमिक महिलालाई सीपमूलक तालीम, उत्पादित सामग्रीको बजारीकरणका साथै सफल उद्यमी बनाउने योजनाअनुरुप काम गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार धापाखेल क्षेत्रमा सिलाइबुनाइ, चुरापोते माला, छालाको जुत्ता, ब्याक उत्पादनका लागि समूहगत रुपमा तालीम दिइनुका साथै यसअघि जीविकोपार्जन उपकरण, सिलाइ मेशिन, बुनाइका सामानलगायत अन्य सामग्री प्रदान गरिएको छ । कार्यक्रमको दोस्रो चरणमा उनीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरण र कच्चापदार्य जुटाउन सहयोग गरेको कम्पनीले जनाएको छ ।

होमनेटले ललितपुर महानगरपालिकाका केही वडा, कीर्तिपुर नगरपालिका, शङ्खरापुर नगरपालिकाका, गोदावरी नगरपालिका साथै गोर्खा तथा नुवाकोटमा पनि काम गरिरहेको छ । आबद्ध श्रमिकमध्ये ८० प्रतिशतभन्दा बढी महिला छन् । यकिन विवरण नभए पनि केही वर्षअघि होमनेटले गरेको सर्वेक्षणअनुरुप उपत्यकामा करीब २० हजार गृहश्रमिक रहेका छन् ।रासस