वाग्मतीमा नयाँ प्रविधिले सफाइ गरिने

–पूर्णप्रसाद मिश्र

काठमाडौँ, २ चैत । नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा कञ्चन पानी बगाइने भएको छ ।

यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा शुद्ध पानी बगाउने उद्देश्यले विसं २०५१ देखि नै अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरी काम गरे पनि आशातीत सफलता हासिल हुन सकेको छैन ।

कोषले अधिकार सम्पन्न वाग्मती समितिसँग समेत सहकार्य गरेर पशुपति क्षेत्रमा नयाँ प्रविधि उपयोग गर्न लागेको हो ।
नयाँ प्रविधिको उपयोग गरी यो क्षेत्रको वाग्मतीमा पानीको बहाव पनि बढाइनेछ । पशुपति क्षेत्रमा शौचालयको फोहर त्यहीँ सफाइ गरी पानीमात्र बाहिर निकाल्ने गरी प्रविधि जडान गर्न लागिएको हो । सम्भाव्यता अध्ययन समूहले कति क्षेत्रमा यो प्रविधिले काम गर्छ भनी प्रतिवेदन कोषलाई बुझाएपछि काम शुरु हुने कोषले जनाएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु गर्दाको पहिलो लक्ष्य पशुपतिसम्मको नदीलाई स्नानयोग्य बनाउने थियो । अभियानका क्रममा कहिले नदी सफा हुने र माथिल्लो भागमा ढल लगायत फोहर मिसाउँदा फेरि दुर्गन्धित भई माछा समेत बाँच्न नसक्ने भइरहेको छ ।

उपत्यकाबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३०५ औँ हप्तामा पशुपति क्षेत्रस्थित राममन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, सफाइ अभियानकर्मी लगायत ५५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २६६ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।
सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइ अभियानको २६० हप्तामा रातोपुल–डिल्लीबजार–कमलपोखरीसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको २३२ औँ हप्तामा तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको बीच सुमार्ग पुलबाट मनोहर तीर्थसम्मको क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनु
भयो । सफाइमा वडाध्यक्ष अमृत थापा लगायत जनप्रतिनिधि, तीनवटै सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी २०० भन्दा बढीको सक्रियता थियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११५ औँ हप्ताको सफाइ गरियो । ११५ भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

चक्रपथ सफाइ अभियानको १०१ औँ हप्तामा बसुन्धराबाट कान्ति बाल अस्पतालसम्म सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालिलगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

आलोकनगर सफाइको १०१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा प्लाष्टिक सडकमा नफालौँ भन्नेलगायत विषयमा जनचेतनामूलक अभियान चलाइएको थियो ।
कार्यक्रममा पूर्वसचिव किशोर थापा, महानगरपालिका–३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी, अधिकार सम्पन्न वाग्मतीको आयोजना प्रमुख आशीष घिमिरेलगायतले नदी सफाइमा स्थानीयवासी सक्रिय हुनुर्नेमा जोड दिनुभयो ।

चक्रपथ बाफलखण्ड सफाइको ८३ औँ हप्तामा कलङ्कीबाट सीतापाइला चोकसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताउनुभयो ।
सफाइ महाभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोसरुपमा काम हुन नसकेको गुनासो समेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन । वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०३ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । रासस