ट्रंपको व्यापार युद्धको घोषणाले अमेरिकाको अर्थतन्त्र नराम्ररी खुम्चियो

वासिङ्टन, २ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करीब सात अर्ब ८० करोड डलर खुम्चिएको छ ।

प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरूले गरेको एक अध्ययनले अमेरिकी अर्थतन्त्र करीब सात अर्ब ८० करोड डलर खुम्चिएको देखाएको हो ।

अध्ययनअनुसार लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ प्रतिशतले कमी आएको छ । आयातमा भएको लागत वृद्धिले उपभोक्ता र उत्पादकलाई वार्षिक करिब ६९ अर्ब डलर नोक्सान भएको छ ।

आर्थिक अनुसन्धान राष्ट्रिय ब्यूरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले राष्ट्रपति ट्रम्पले चीन समेतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न जस्तोसुकै कदम चाल्ने ट्रम्पको घोषणाले अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखिएको जनाएको छ ।

अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रलाई बचाऊ गर्ने नाममा राष्ट्रपति ट्रम्पले संरक्षणवादी व्यापार नीति अबलम्बन गरेको आरोप लाग्दै आएको छ । वासिङ्टन र बेइजिङबीच एकअर्का मुलुकका सामानमा करवृद्धि गरिएको भएपनि अन्ततः व्यापार विवाद सुल्झाउन हाल वार्ता जारी छ ।