अलैंची बेचेरै छोराको विवाहमा जन्तीका लागि दुई वटा प्लेन चार्टर गरे यी किसानले !

काठमाडौ, १ चैत्र । धनुकुटाका एक किसानले आफ्नो छोराको विवाहमा जन्तीको लागि दुई वटा प्लेन नै चार्टर गरेका छन् ।

जिल्लाको महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाले आफ्नो छोराको विवाहमा जन्तीका लागि दुई वटा प्लेन चार्टर गरेका हुन् ।

नगेन्द्र एक सामान्य किसान हुन् । उनी अहिले पनि अलैची कृषकको नामले परिचित छन् । उनले खेती किसानीबाटै सिधुवा, हिले, धरान लगायतका विभिन्न शहरहरुमा निजी घरहरु बनाएका छन् । उनले भर्खरै मात्र आफ्नो एकमात्र २९ वर्षीय छोरा दिनेश थापाको काठमाण्डौ ठमेल निवासी प्रज्ञा सुवेदीसँग हिन्दू परम्पराअनुसार भव्य विवाह गरिदिएका छन् ।

थापाका अनुसार गाँउका ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा २ वटा प्लेन चार्टर गरेर लगेको बताए । उनले छोराको विवाहमा विराटनगरसम्म प्लेनमा आउँदा जाँदा र विराटनगरबाट धनकुटासम्म गाडीमा यात्रा गर्दा झण्डै ७ लाख ५० हजार खर्च भएको बताए ।

उनकाे छोरा दिनेशले बीएस्सी गरेका छन् । उनी हाल सुनसरी टेक्निकल कलेजमा फार्मेसीमा एमएस्सी गर्दै छन् । उनी यस वर्ष फार्मेसीमा पूर्वाञ्चल टपर पनि हुन् । उता थापाका बुहारी प्रज्ञा भने काठमाण्डौमा नै लक्ष्मी बैंकमा काम गर्दै आएकी छिन् ।