काजकिरिया गर्न अमेरिकाबाट आइपुगे आमाबुवा तर इथियोपियाबाट आइपुगेन एकताको शव !

काठमाडौं, १ चैत्र । अफ्रिकी मुलुक इथियोपियामा आइतबार भएको जहाज दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा कार्यरत गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीले पनि ज्यान गुमाइन् । तर उनको निधन भएको पाँच दिनसम्म पनि शव नआउँदा परिवारले काजकिरिया गर्न पाएका छैनन् ।

छोरीको काजकिरियाका लागि अमेरिकामा रहेका एकताका बुवाआमा बुधबार नेपाल आइपुगेका छन् । ‘एकताको आमाबुवा अमेरिकाबाट हिजो काठमाडौंको घर आइपुग्नु भयो,’ एकताका ठूलोबुवा ईश्वर अधिकारीले भने, ‘तर उनको शव आएको छैन । शव छिटो ल्याइदिनुपर्यो भनेर हामीले पहल गरिराखेका छौं । कहिले आइपुग्छ थाहा छैन ।’

इथियोपियन एयरलायन्सले चिनिने शव हस्तान्तरण गर्न कम्तिमा अझै तीन दिन लाग्ने बताएको छ ।

जहाज जमिनमा बज्रेको र त्यसपछि लागेको आगोका कारण धेरै शवको पहिचान हुन हप्तौं वा महिनौं लाग्न सक्ने उसले जनाएको छ ।

ती शवहरूको पहिचान गर्न दाँतको रेकर्ड वा डिएनए परीक्षण गर्नुपर्ने हुनसक्छ । –सेतोपाटीबाट