मोटरसाइकल सर्भिसिङ गर्न घरबाट हिंडेका वडाध्यक्ष १६ दिनदेखि बेपत्ता !

अर्घाखाँची, १८ पुस । १६ दिनदेखि बेपत्ता भएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) अझै पनि फेला पर्न सकेका छैनन ।

पुस २ गते मालारानी –२, डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए ।

भूसालको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ति बगैचामा रहेको सीसीटीभी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेरिएको र अन्य संयन्त्रसमेत प्रयोग गरेर खोजी भैरहेको तर पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए ।

गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गएको हो भन्ने बारेमा थाहा हुन सकेको छैन । भुसालको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।

सन्धिखर्कदेखि गोरुसिंगेसम्मको झण्डै ३ घण्टाको समयमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लीलबहादुर पाण्डे र श्रीमतीसमेतले फोन गर्दासम्म वडाध्यक्ष विनोदले फोन नउठाएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

वडा सचिव गंगाराम चौधरी बिदापछि घरबाट फर्केर सन्धिखर्क आएपछि मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको र पुस ४ गते पुनः गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको स्वीकृतिबिना नै हुलाकमार्फत १३ गतेसम्मको बिदाको निवेदन पठाएर घरतर्फ लागेकोले सचिव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायव उपरीक्षक नवराज मल्लले सोधपुछ गरेका छन । घटनामा सचिवको कुनै संलग्नता नदेखिएकोे प्रहरीको भनाइ छ ।