खसोग्गी हत्याबारे अन्तराष्ट्रिय छानविन गर्न साउदी अरबद्वारा अस्वीकार

जेनेभा, १ चैत्र । प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नहुने रियादले बिहीबार पुनः दोहोराएको छ ।

उसले आफ्नो मुलुकको अपराधीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण आफूसँग भएको साउदी अरबको दावी छ ।

जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा बोल्दै साउदी प्रतिनिधिमण्डलका प्रमुख बन्दार अल–ऐवानले भन्नुभयो, “अनुसन्धानका लागि हस्तक्षेपकारी अन्तराष्ट्रिय भूमिकाको मागले साउदी अरबको आन्तरिक मामिलामा हस्तक्षेप हुने र यसमा साउदी अरब सहमत हुन सम्भव छैन ।

साउदी अरबसँग यो जघन्य अपराधलाई कानूनी दायरामा ल्याउने सबै उपायको प्रयोग गरी घटनाको अनुसन्धान गरिरहेको छ,” अल–ऐवानले परिषद् बैठकमा बताउनुभयो ।

ऐवान मानव अधिकार उल्लङ्घनबारे साउदी अरबको मुल्याङ्कन गर्नका लागि जेनेभा जानुभएको हो जहाँ साउदी अरबमाथि खसोग्गी प्रकरण लगायतका मानब अधिकार उल्लङ्घनका आरोप विश्वका धेरै मुलुकका प्रतिनिधिले लगाएका थिए ।

गत हप्ता विश्वका ३६ राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी खसोग्गीको हत्यारालाई कानूनी कठघरामा उभ्याइ पिडित परिवारलाई न्याय दिलाउन गरिएको आह्वानप्रति प्रतिक्रिया दिँदै साउदी अरबको उक्त भनाई आएको हो ।

वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि हत्या भएको थियो ।