अचानक मौसममा किन आयो बदली ? आगामी शनिबारसम्मको मौसम यस्तो हुने छ !

काठमाडौं, ३० फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने छ ।

आज बिहिबार बिहानदेखि काठमाडौं उपत्यकाको मौसममा पनि अचानक बदली आएको छ ।

मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताएका छन् । उनका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ ।

बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भू–भागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औंल्याए ।

शुक्रबार देशको पश्चिमी भू–भागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार बिहानीपख देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । अपराह्नपछि भने देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।