विमान खरिद प्रकरण : पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री र सचिवमाथि कारबाही हुने

काठमाडैं, १८ पुस । वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ ।

उपसमितिको मंगलबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म बसेको बैठकले विमान खरिदमा झण्डै ४ अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्न नागरिक उड्डयनमन्त्रीमाथि कारबाही गर्न सिफारिस गरेको हो ।

उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई दोषी ठहर गरेको छ । दुई पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।

पूर्वमन्त्री शाहीको पालामा खरिद प्रक्रियाको थालनी तथा बैना भएको थियो । अर्का पूर्वमन्त्री देवको पालामा पहिलो किस्ता र हालका मन्त्री अधिकारीको पालामा दुई किस्ता रकम पठाएपछि दुईवटा वाइडबडी जहाज गत असार र साउनमा नेपाल ल्याइएको थियो ।