आजबाट १६औं पटक अनसन बस्दै डा. गोविन्द केसी, अनसन बस्न इलाम पुगे

काठमाडौं, १८ पुस । चिकित्सा शिक्षा सुधारको माग राख्दै सामाजिक अभियन्ता डा. गोविन्द केसी बुधबारबाट पुनः १६ औं अनसन बस्दैछन् । उनि यस पटकको अनसन बस्न पूर्वी नेपालको इलाम पुगेका छन् ।

माग पुरा गर्नका लागि मंगलबारसम्मको अल्टिमेटम दिएका केसी सरकारले माग पुरा गर्ने छाँट नदेखाएपछि अनसन बस्ने तयारी गरेको मंगलबार उनका सहयोगी अभिषेक राज सिंहले बताएका थिए । उनका अनुसार अनसनका लागि डा. केसी मंगलबार नै इलाम पुगेका पुगेका छन् ।

डा.केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् ।

१५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न, सम्झौता बमोजिम अक्षरस चिकित्सा विधेयक संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न उनले माग गरेका छन् । यस्तै सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न माग गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उनले माग गरेका छन् ।

दोस्रो मागमा केसीले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।