कांग्रेस युवा नेता गगन थापाको आरोप : गिरिजाबाबुले शान्ति स्थापना गरेको देशमा ओलीको सनकले द्वन्द्व हुने खतरा बढ्यो

काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताएका छन् ।

मंगलबार सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएकोबारे बोल्दै उनले प्रधानमन्त्री केपी ओलीको सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेलिन आँटेको आरोप लगाएका हुन् ।

महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाटको क्रममा थापाले भने, ”गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो । अहिले केपी ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे । यस्तो सनकले देश चल्दैन ।”

कार्यक्रममा बोल्ने क्रममा थापाले सरकारले भष्टचारलाई रोक्न नसकेको पनि दाबि गरे । जनताका आधारभूत आवश्यकता पुरा गर्न नसक्ने सरकार दुई तिहाइको दम्भमा तानाशाही बन्नतर्फ लागेको उनको आरोप छ ।

संसदमा विपक्षी दल काँग्रेस छ भन्ने हेक्का नराखेर प्रम ओलीले गल्ति गरेको उनको बुझाइ छ ।