नेपालसँग भुटान हार्नुलाई नेपालको ब्यबस्थापन पक्षसँग जोडे भुटानी प्रशिक्षकले

विराटनगर, २८ फागुन । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भुटान आयोजक नेपालसँग ३–० ले पराजित भयो । खेलपछि भुटानी प्रशिक्षक सुङ जियालीले प्रतियोगिताको व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।

प्रशिक्षक सुङले व्यवस्थापनमा भोग्नु परेको कठिनाईका कारण नेपालसँग आफुले हार व्यहोर्नु परेको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी बस्ने होटल राम्रो भएन । होटल खोज्दै दिन गयो ।’ भुटानको टिम काठमाडौंबाट आइतबार विहान विराटनगर पुगेको थियो । भुटानी टोलीका लागि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्ट्रन स्टार होटल बुक गरेको थियो । पहिलो दिन टोली त्यही बस्यो ।

भोलिपल्ट होटल नराम्रो भएको नयाँ खोजीमा हिँड्यो । बेलुका ५ बजेतिर स्ट्रनबाट सरेर ह्यारिसन होटलमा बस्यो । बस्ने व्यवस्थाको राम्रो नभएका कारण भुटानी टिमले सोमबार अभ्यास गरेन ।

यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन लज्जास्पद भएको उनको दाबी छ । उनले भने, मेरो लामो प्रशिक्षण करिअरमा अहिलेस्म्म यस्तो अवस्थाबाट गुज्रिनु परेको थिएन । हामीले अभ्यासमा जोड दिन पाएनौं । यस्तो किसिमको व्यवस्थाले खेलाडीमा नकारात्मक असर परेको छ ।