घाँस खाइदिएको रिसको झोंकमा साँढेको तीन खुट्टा काट्ने चमारविरुद्ध मुद्दा !

गौशाला, २८ फागुन । महोत्तरी जिल्लामा साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ ।

जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो ।

प्रहरीका अनुसार महोत्तरीमा यो पहिलो घटना हो । पशुलाई क्षति पुर्याएको आरोपमा कुनै मानिसमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो । इन्दल महरा चमारले आफ्नो घरमा पालेका गाई, बस्तुका लागि काटेर राखेको घाँस घरमा पसेर साँढेले खाइदिएपछि रीसको झोकमा धारिलो हतियार लिएर साँढेको तीन खुट्टामा काटेर गहिरो घाउ बनाइदिएको हो ।

चमारले काटेर घाइते बनाएको साँढेको अवस्था नाजुक रहेको छ भने स्थानीय प्रशासनले सो साँढेको उपचार पशु स्वास्थ्य सेवा कार्यालय जलेश्वरमा गराएको छ ।